विनोद रोका, न्युयोर्क
मेरो कर्मभूमि वनेको छ न्युयोर्क किनकि म कानुन पेशामा आवद्ध छु न्युयोर्कमा विगत धेरै बर्षदेखि । नेपालमा करिव १५ बर्ष जति कानुन व्यवसायमा संलग्न रहेर अमेरिका आउँदा आफुमा केही रिक्तताको अनुभव हुन्छ । तर मेरो धर्मप्रतिको आस्था अनि साहित्य र संगीतमा अभिरुचि भएको हुँदा त्यो रिक्ततामा केही कमी आएको अनुभव गर्छु । नेपालको पुर्वी पहाडी जिल्लामा जन्मेर हुर्केको मान्छेलाई सानैदेखि यी विद्याहरुले आकर्षित गरेका भएपनि तदनुकुलको वातावरण नपाउँदा त्यसमा भिजेर रमाउँन पाइँन । तर म प्रवासको पनि न्युयोर्क शहरमा भएको कारणले गर्दा नेपालमा रहँदा सम्पर्क गर्न नसकेका धर्म, साहित्य र संगीतका महारथीहरुसँग सत्संग गर्ने सुअवसर पाएकोले नेपालमा रहँदा अधुरा रहेका मेरा चाहनाहरु पुरा भएको जस्तो लाग्छ ।
त्यसैले यी महारथीहरुलाई म सम्मान गर्छु । माया गर्छु हृदयदेखि नै यिनीहरुलाई आफ्नो जन्मभूमिले पलायन हुन बाध्य बनाएको भएतापनि ।
पहाडबाट तराई हुँदै काठमाण्डौमा आएर अडिएको मेरा जीवन पढाई, गाँस अनि वासको जोहो गर्नमा जुट्नुपर्ने भएको हुँदा यी विद्याहरु वरिपरी छरिएर रहेका भएता पनि सम्पर्कमा रहन सकिन । यद्यपि रेडियो नेपालमा कागजका पन्नामा लेखेका रहरिया गीतहरुको शव्द पास गराउन भने २०३५।३६ सालतिर गएको सम्झना अझै ताजै छ । राम थापासँग गितार सिक्न पनि नपुगेको होईन । तर त्यही विद्यामा समर्पित नभएको हुँदा गायक र संगीतकारहरुलाई टाढैबाट देखेपनि भेटेर कुरा गर्ने अवसर भने प्रायः जुरेन ।
रेडियो नेपालबाट बज्ने गीतहरु सुन्दा पुराना पुस्तामा बच्चु कैलाश, नारायण गोपाल, अम्वर गुरुङ, दीप श्रेष्ठ, कुमार बस्नेत, राम थापा राम थापा, प्रेमराजा आदि पन पर्थेआदि मन पर्थे भने पछिल्लो पुस्तामा आउँदा सपनाश्री, रामकृष्ण ढकाल, कर्णदास, यम, रोशन, जगदीश, अन्जु, लगायतका अन्य गायक, गायिकाहरु पनि मन पर्छन् । सबै मन परेकाको नाम उल्लेख गर्नुभन्दा पनि कुनै बेला केही लेख्नु उचित हुन्छ । तर म शव्दहरु बाजाले पुरिएका पप गीत त्यति मन पराउँदिन । यद्यपि ओमविक्रम, सुनिल, हरिश र दिपेशकिशोर लगायतका पप गायकहरुका केही पप गीतहरु भने मन पर्दछन् जसमा गीत पनि बुझिन्छ ।
नेपालबाट अमेरिका आउनु भन्दा अगाडी कर्णदासको पुरानो डुंगा र अन्य केही गीत सुनेपछि म उनको फ्यान बनें । कति कर्णप्रिय स्वर नाम जस्तै । अरुको भन्दा भिन्न भाव र शैली उनको गीतमा छ । उनको स्वरसँगै म बगेको छु, त्यसैले म उनका गीतहरु पटकपटक सुन्ने गर्छु एक्लै । मलाई कुनै पनि गीत एकपटक सुनेर धीत मर्दैन । उनले गाएका गीतहरु सुनेपछि यी गायक कहाँका हुन् ? भनेर सोधखोज गर्दा पोखरातिरका हुन्,संगीत पनि गर्छन् भन्नेसम्म सुनेको थिएँ । हामी अमेरिका आएपछि संयोगवश कृष्टि, उज्वल, अनि शम्भुजित दाईको बहिनी ज्वाँई विनिता र विदुर समेत रहेको घरमा बस्न पुग्यौं जसले गर्दा शम्भुजित दाईसंग त्यहीं परिचित हुने मौका मिल्यो । अनि मेनुकाको प्रस्तुतीमा मेरो रचना, शम्भुजित दाईको संगीत अनि रामकृष्ण, जगदिश, अन्जु, दिपक लिम्वु, माण्डवी, दिपेश किशोर, मनोजराज र आभाको स्वरमा सजिएको मेरी प्रिय एल्वमको जन्म भयो । मेरो पहिलो एल्वमले शम्भुजित दाई जस्तो चर्चित संगीतकारको एकल संगीतको न्यानो स्नेह पायो । तर त्यहाँ कर्णदास भने छुटे उनी नेपालमा नभएको हुँदा ।
२००६ सालतिर कर्णदास अमेरिकामा आएका रहेछन् । एकदिन कर्णदासको फोन आयो । उनले मलाई फोनमा दाईको संज्ञा दिएर मिठो स्वरमा आफ्नो परिचय दिदा म तरंगित भएँ । मभित्र रहेको सांगीतिक कुनामा उनको स्वरले एउटा मिठास थप्यो । हामीले फोनमा निकैबेर कुरा गर्यौं । उनले मलाई आफु नेपालमा भएको भए मेरो एल्वमको एउटा गीत शम्भुजित दाईबाट गाउने अवसर पाउने थिएँ तर त्यो मौका गुम्यो दाई भने । केहीबेर फोनमा कुरा गरेपछि मैले उनलाई बाल्टिमोर आउँदा भेटौंला नि भनें । किनकि मेरो कहिले काँही मुद्दाको कामले गर्दा बाल्टिमोर जानु पर्दछ र उनी त्यसबेला त्यहीं बस्दथे ।
संयोगले एकदिन मुद्दामा बाल्टिमोर जाने काम पर्यो । मैले उनलाई फोन गरेर भेट्ने सल्लाह मिलाएँ । तर म मुद्दा सकेर न्युयोर्क फर्कने बेलामा उनीसँग प्रत्यक्ष भेट हुन सकेन उनको कामले गर्दा । त्यसैले हामीले फोनमा नै कुरा गर्यौं । फेरि भेट्ने बाचा गरेर । हामी दुबैजना एक अर्कालाई भेट्न चाहन्थ्यौं । किनकि फोनमा कुरा भएपनि भेटेर कुरा गर्ने साईत जुरेको थिएन ।
यसैबीच २००८ मा न्युयोर्कमा एउटा सांगीतिक कार्यक्रमको आयोजना हुने भयो र त्यसमा कर्णदास पनि आउने भन्ने खवर सुनें । म पनि उनको गीत सुन्न र भेट्न आतुर हुँदै कार्यक्रममा पुगेको थिएँ । तर उनी कार्यक्रमका आकर्षण भएकाले आयोजकहरुले उनको गाउने पालो पछाडी राखेका रहेछन् । प्रतीक्षाको घडी लम्बिदै थियो । दर्शकहरु कर्णदासलाई सुन्न आतुर थिए म जस्तै । उनी स्टेजमा आएर आफ्ना चर्चित गीतहरु गाउन थालेपछि प्रतीक्षाका पलहरु खुसीयालीमा बदलिए । सबै दर्शकहरु उनको स्वरमा बगिरहेका थिए । वान्समोरको आवाज गुन्जिरहेको थियो। म अरु भन्दा बढी खुसी थिएँ उनलाई देख्न पाएँ भनेर । उनले गीत गाउँदा करिब कार्यक्रमको अन्त हुन लागेको थियो । मैले त्यही स्टेजमा गाएर दर्शक माझमा आईसकेका गायकहरु कन्हैया सिंह र पवन ओली भाई अनि कार्यक्रम प्रस्तोता रवि लामिछानेजीसंग पनि खवर पठाएँ कर्णदासलाई मैले भेट्न खोजेको छु भन्दिनु है भनेर । उनी स्टेजबाट झरे आफ्ना गीतहरु गाईसकेर । दर्शकहरु उनीसंग फोटो खिचाउन र हात मिलाउन झुम्मिए । म पनि एउटा छेउमा उनलाई कर्णभाई भनेर बोलाउने जमर्को गर्दै थिएँ । तर उनी भीडको बिचमा भएका हुँदा त्यो आँट गर्न सकिन । संकोच पनि लागिरहेको थियो कर्णदासले मलाई कस्तो व्यवहार गर्ने हुन् भनेर । मैले आफुलाई धेरै सम्हाल्न सकिन र कर्णदास भाई म विनोद रोका भनेर कराएँ । मेरो आवाज सुनेर कर्णदास भीडबाट बाहिर निस्किए र म भएको ठाउँमा आई दाई भन्दै मलाई न्यानो अंगालो मारे । र भने दाई म पनि तपाईंलाई नै खोज्दै थिएँ भिडमा । मैले पनि उनलाई त्यसैगरी अंगालोमा बाँधे । कर्णदासले मलाई आफ्नो सैयौं प्रशंसकहरुको भीडबाट निस्किएर त्यसरी प्रेम र सम्मानको सांगीतिक स्पर्श दिएपछि मेरो आँखा रसाईसकेको थियो बच्चुकैलाशले गीतमा भनझैं मैले त होईन मेरा आँखाहरुले तिम्रा लागि रोईसकेछन्….।
http://www.globenepal.com/2013-04-26-18-13-45/2062-2013-10-30-15-28-02.html