ससुराज्युले अमेरीकालाई स्वर्ग भन्न छोडनु भयो ।

विनोद रोका

ससुरा धनबहादुर भटृराईज्यु २००५ को नोभेम्वर महिनामा सासुहित न्युयोर्क घुम्न आउनु भएको थियो नेपालबाट ८३ बर्षको उमेरमा । न्युयोर्कमा आएकै दिनदेखि भन्न थाल्नुभो ज्वाँई अमेरिका त स्वर्ग रहेछ धार्मिक ग्रन्थ र प्रवचनमा सुनेको जस्तै । केहीदिन शहर घुमेपछि त स्वर्गको वर्णनमा अझ बढी तथ्यहरु थपिए । सबैकुराको सुविधा, केहीको पनि अभाव नभएको । चाहिएको कुरा तुरुन्तै पाईने,न बत्ती जाला भन्ने चिन्ता, न पानी र ग्याँस नपाइएला भन्ने पिर । जताततै झिलिमिली । पैसा भएपछि जे पनि किन्न पाईने ।

अनि अमेरिका पैसाको कमी नभएको देश । उहाँ फेरि भन्नुहुन्थ्यो,’ ज्वाँई यो त पाताल हो धनका राजा कुवेरलाई भगवानले बस्न दिएको ठाउँ । त्यसैले यहाँ धन र सुविधाको कुनै कमी हुँदैन’ आदि आदि । यो कुरा उहाँले मलाई मात्र होईन मेनुकालाई र दादाहरुलाई पनि सुनाउनु भएको थियो। उहाँहरुको भीषा ६ महिनाको भएको हुँदा हामी सबैजना त्यति बेलासम्म बस्नुहुन्छ भन्नेमा ढुक्क थियौं । उहाहरुको बसाईले दादा, भाउजु, र हामीहरु सबैलाई आनन्दित बनाएको थियो । त्यसमा पनि सासुको खाना मीठो पकाउने ख्याती र चुल्हो भए अरु केही नचाहिने बानीले गर्दा कामबाट आयो,पकाएको मीठो खाएर गफगाफ गर्यो । अनि कहिलेकाँही दुईचार हात तास खेल्न पनि भ्याईने हुँदा हामीलाई परदेशमा ठूलो दशैं आएजस्तो थियो । तर आएको महिना दिन नाघेपछि बाबाले अमेरिका स्वर्ग भन्न छोड्नु भयो । उहाँ घरिघरी सोध्नुहुन्थ्यो जाने टिकट कहिलेको हो भनेर । अनि जवाफ पाएपछि मुख अमिल्याउँदै भन्नुहुन्थ्यो अझै धेरै रहेछ, सार्न मिल्छ होला नि । न्युयोर्कमा आएर छोरा, छोरी र नातिनातीनाहरुलाई भेटेपछि जुन रुपबाट रमाउँला भन्ने सोच थियो त्यो भएन,यहाँ सबैको आ आफ्नै काम । विहानै हिंड्यो अनि रात पर्न लागेपछि घर फर्कियो,खायो अनि औपचारिक कुराकानीपछि सुत्न हिंड्यो भोलीको काम सम्झदै । कसले के गर्दैछन् ? के पढ्दैछन ? आदि लामो कुरा सोध्ने र जवाफ दिने चलन पनि हुँदैन अमेरिकाको व्यस्त जीवनशैलीमा । बिहानदेखि साँझसम्म दुईजना मात्रै डेरामा । सिनेमा र टिभी पनि कति हेर्ने । वल्लो अपार्टमेण्टको पल्लोसँग बोलचाल हुँदैन । न बोल्ने साथी, न जाने ठाउँ ।

उहाँले अमेरिका स्वर्ग भन्न छोडेको कुरा मेनुकाले थाहा पाएर सोधिन्, हैन बाबा आजकाल त अमेरिका स्वर्ग भन्न छाडी टिकट कहिलेको हो भनेर सोध्न थाल्नुभो नि ? उहाँले होईन छोरी कति बस्ने अमेरिकामा पनि ? अब देखिहालियो । नेपालै जाने,हामी बुढाबुढीलाई नेपालै स्वर्ग रहेछ भन्ने जवाफ दिनुहुन्थ्यो । त्यसैले उहाँहरु भीषा सकिनुभन्दा अगाडि नै नेपाल फर्कनु भयो ।

बाबाका पुर्खाहरु गुल्मीबाट बर्मामा पुग्नु भएको रहेछ । टाईगर क्याम्प बर्मामा अगष्ट ९, १९२३ मा जन्मिनु भएका बाबा फुटवलको राम्रो खेलाडी भएको र ब्रिटिसहरुसँग कामगर्ने हुँदा उहाको अंग्रेजी भाषामा दखल थियो । बर्मामा प्रवासी नेपालीहरुलाई थिचोमिचो हुनु थालेपछि अरु धेरै बर्मेलीहरुझैं वहाँहरुपनि आफुले जोडेको जेथा छाडेर शरणार्थीको रुपमा अक्टोवर १९६४ मा नेपाल आई आफ्ना ४ जना छोरा र ३ जना छोरीहरुलाई लालनपालन र शिक्षा दिनु भयो नवलपरासीमा । उहाँको माहिली छोरी मेनुकासँग मेरो २०४१ साल वैशाख अर्थात १९८४ मा विवाह भएपछि म त्यो परिवारसंग गैरबर्मेली ज्वाँईको हैसियतले नजिक हुनपुगें । उहाँलाई भेटेका बेला ज्वाँई, धर्म, नैतिकता, र ईमान जमानमा कहिले पनि चुक्नुहँुदैन । अरुलाई दुःख दिनुहुँदैन,हरिनाम लिनुपर्छ । आखिर उनै हरि हुन् गर्ने गराउने आदि भन्ने गर्नुहुन्थ्यो । बाबा ब्रिटिसहरुको संगतमा लामो समयसम्म बस्नु भएको हुँदा खानपिन र चाडपर्वमा उनीहरु जस्तै रमाउनुमा उहालाई आनन्द आउँथ्यो । त्यसमा पनि लैलामजनुको जस्तो प्रेम गरेर वैवाहिक सम्वन्धमा आउनु भएकी सासुको जन्म १ जनवरीमा भएको हुँदा बाबाको लागि क्रिसमश र नयाँ वर्षले अझ बढी महत्व राख्थ्यो ।

बाबाको ९१ बर्षको उमेरमा निधन भयो गत शनिवार १४ डिसेम्वर २०१३ का दिन विहान ४ बजेपछि भरतपुरमा । भरतपुर पवित्र नदी नारायणी र देवघाट जस्तो धार्मिकस्थलको काखमा रहेको छ । बर्मामा जन्म भै त्यहींको मरण हुने मान्छे आफ्नो पूर्वकर्मले गर्दा भाग्यमा जुरेको भूमि, पुर्खाको ईतिहास जोडिएको आफ्नै देश नेपाल फर्कनुभयो शरणार्थी बनेर । देवादीदेव पशुपतिनाथद्धारा रक्षित, भगवान रामको ससुराली र बुद्धको जन्मस्थल नेपाललाई उहाँको अन्तरआत्माले स्वर्ग हो भन्ने ठम्याईसकेको थियो । त्यसैले उहाँले अमेरिकालाई स्वर्ग भन्न छोड्नुभयो आएको केही समयपछि । अनि जन्मिएर हुर्किएको थलो बर्मा वहाँकोलागि परदेश भयो । उहाँको जीवनको १९८४ सालपछिको पाटोसँग म परिचित रहेको छु । अरु बुढो भएर घरमा बस्ने बेलामा पनि बाबा ब्रिटिसहरुले ठेक्कामा बनाउने नेपालको सडक आयोजना र जापानीजहरुले ठेक्कामा बनाएको कुलेखानी जलविद्युत जस्ता आयोजनामा ईमान्दार सुपरभाईजरको रुपमा कार्यरत रहेको देखेको छु । उहाँ वर्मामा रहँदाको अवस्थामा बिताउनु भएका जवानीका दिनहरु किम्वदन्तीको रुपमा सुनेको छु । त्यसैले बाबाले जिउनु भएको जीवनको पन्नाहरु पल्टाएर हेर्दा उहाँको मृत्युमा रुनुभन्दा पनि बाबाले बाँचेको जीवनकोलागि खुसीको अनुभुति गर्न मन लाग्छ । यद्यपि यो पक्ष हाम्रो संस्कृतिमा पच्दैन ।

संस्कृति र संस्कार पनि आ आफ्नै किसिमका देखिन्छन् । त्यसैले कुन ठीक र कुन बेठीक छुट्याउन मुस्किल हुन्छ । भरखरै परलोक हुनुभएका मण्डेलाको अन्तिम दर्शनकालागि भेला भएका जनसमुदायका सदस्यहरु मण्डेलालाई गीत गाएर विदाई गरिरहेका थिए । उनीहरुलाई यस्तो शोकको घडीमा पनि रमाएर गीत गाउनुको कारण सोध्दा जवाफमा भने यो मण्डेलाले बाँचेको स्वर्णिम दिनहरुका लागि अभिव्यक्त गरिएको मिठो स्मरण हो । त्यस्तै वितेका बर्षमा म र वकिल मित्र अखिलेशजी, जो दिल्लीका हुनुहुन्छ, एकजना हैदरावादका परिचितको मृत्युमा सामेल हुन न्युजर्सी गएका थियौं । पुग्दा दाहसंस्कारको काम सकिएको हुँदा हामीलाई रेष्टुराँमा आउनु भनियो । त्यहाँ पुगेपछि मलामी गएर आएकाहरुलाई पार्टीमाझैं पिउने र खानेकुराहरु दिन थालियो । म र मित्र अखिलेशजी छक्क परिरहेका थियौं । हामीले असहज मान्दै मृतकका नजिकका मित्रलाई कारण सोध्यांै । उन्ले जवाफमा भने हाम्रो प्रचलनमा मृतक व्यक्तिको मनपर्ने काम आफन्तहरुले मरेपछि गरेमा उनको आत्माले शान्ति पाउँछ भन्ने प्रचलन छ । ऊ साथीहरुलाई बोलाएर यसरी खुवाउन र पियाउन पाउँदा धेरै खुसी हुनेहुँदा उसको खुसीको लागि यो पार्टी राखिएको हो भन्ने जवाफ दिए ।
बाबाको देहवसानपछि विशेषगरेर मेनुकालाई सहानुभुति दिन केही मित्रहरु आउनु भयो भने कतिले फेसबुक र ईमेलमा शोक सन्देश पठाउनु भयो । मैले मेनुकालाई भने तिमी त रोएर दुःखी हुनुपर्ने कुनै कारण छैन । किनकि सबैभन्दा प्रिय छोरी भएकी हुँदा तिमीलाई बाबाले म धेरै बाँच्दिन छोरी एकपटक आऊ भनेकाले भरखरै नेपाल गएर १ महिनासम्म बसेर आयौ उहासँग । सकेको सेवा पनि गर्यौ । तिमी आउने बेलामा बाबाले छोरी तिमीले मेरो जानेबाटो खोलिदियौ भन्नुभएको थियो । तिमी फर्किएर आएपछि उहाँको देहवसान भयो । देहत्याग गर्दा पनि यहाँको शुक्रबारका दिन राती पारिदिनु भयो छोरीलाई काममा विदा लिनु नपरोस् भनेर । बरु बाबाको आत्माको शान्तिका लागि उहाँले भन्ने गरेझैं धर्म र नैतिकताको बाटोमा हिंडी उहाँलाई मनपर्ने काम गर्नु राम्रो हुन्छ भनेर सम्झाएँ ।

बाबाको अभाव खट्किने छ वहाँको देहवसानले किनकि नैतिकता र धर्मको मार्गमा हिंड्नु पर्छ भन्ने अर्ती अब उहाँको मुखबाट आउने छैन । तर उहाँले दिनुभएका अर्तीहरु सधैं जीवनका मार्गदर्शन भएर रहनेछन् हामीहरुका लागि । उहाँले लामो समयसम्म एउटा रमाईलो जीवन बाँच्नुभयो सबैको भलो चाहँदै अनि आफ्ना छोराछोरी, नातीनातिना र ज्वाँईचेलाहरुका स्मृतिमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, बर्मा र अन्य कतिपय मुलुकहरुमा पुगेर फैलिनु भयो विशाल आकाश जस्तै । वैदिक धर्मशास्त्र भन्छ आफ्नो पूण्यकर्मले गर्दा मानवले ८४ लाखयोनी पार गरेर मात्र फेरि मानव भएर जन्मन्छ यो पृथ्वीमा मोक्षका लागि परीक्षाको तयारी गर्न । अनि फेरि मृत्युपश्चात् मानिस पुनः आफ्नो कर्मअनुसारको फल भोग्नकालागि अरु लोकहरुमा जन्म लिन पुग्छ ।

भिक्षु बोधीद्धारा सम्पादित ग्रेट डिसाईपल्स अफ बुद्ध भन्ने कितावको पृष्ठ २३ मा उल्लेख गरिएको एउटा प्रसंग आउँछ । बुद्धका प्रमुख चेलाहरु मध्ये राम्ररी ध्यानविधि सिकाउन सक्ने क्षमता सारीपुटृमा थियो। सारीपुटृले मृत्युशैयामा रहेका अर्का भिक्षु ब्राम्हण धनज्ञानीलाई उनको मृत्युपश्चात ब्रम्हलोकमा जाने दक्षता छ भन्ने लागेर ब्रम्हबिहारको ध्यानविधि सिकाएर फर्किएछन् । पछि बुद्ध आएर सारीपुटृलाई भन्नुभएछ, हेर तिमीले ध्यानविधि सिकाएर आएका भिक्षु देहत्याग गरेर ब्रम्हलोकमा गए तर उनमा त्यो भन्दापनि माथि जाने दक्षता थियो । अब उनले ब्रम्हलोकमा लामो समयसम्म बिताएर फेरि मानव भएर जन्मनुपर्ने हुन्छ मोक्ष पाउन । किनकि मोक्ष नपाउन्जेलसम्म मानिसले आफ्नो कर्मको फल भोग गर्न जन्मने र मर्ने चक्रमा फस्नुपर्दछ । बुद्धले सारीपुटृलाई ब्रम्हलोकसम्म मात्र जाने ज्ञानविधि सिकाएको हुँदा उनले पनि आफुले जानेको ब्रम्हलोकमा पुग्ने माथिल्लो ध्यानविधि नै मृतकलाई सिकाएका थिए ।

बाबाको कर्मअनुसारको फल भोग्न फेरि मानव भएर जन्मनु भयो र मैले पनि त्यसरीनै त्यही युगमा जन्मन पाउने सौभाग्य पाएँ भने म आफ्नै पुज्य पितामाताको सन्तानको हैसियतले गृहस्थ जीवन बिताउनु पर्दा बाबासँग यस्तै नाता जोडी यिनै ईष्टमित्रहरुसँग समतामा रही जीवन निर्वाह गर्न पाएँ भने मलाई आनन्दको अनुभूति हुनेछ । आफ्नो अहंकारलाई धोएर जान अन्जानमा मैले दुखाएका आफन्तहरुका मनहरुमा प्रेम, सदभाव, र समझदारीको मल्हम लाउने मौका पनि पाउनेछु । अनि आशा राख्छु बाबाले भनेझैं धर्म र नैतिकतालाई जीवनको यात्रामा मार्गदर्शन बनाई अगाडि बढ्न र मृत्युपश्चात बुद्धले भनेको मोक्ष प्राप्त गर्ने ज्ञान र दक्षता आर्जन गर्ने अवसर बुद्धजस्तै सद्गुरु पाउँन सकौं ।

अन्तमा बाबाको आत्माको चिरशान्तिको कामना अनि यस दुःखद घडीमा सासुज्यु र अन्य सबैमा बाबाको स्मरणले वर्तमान र भविष्यमा धैर्यतापुर्वक बाँच्ने सहास दिईरहोस् ।

http://www.globenepal.com/2013-04-26-18-13-45/2669-2013-12-23-03-24-44.html