विनोद रोका, एर्टनी एट ल, न्युर्योकं
जंग बाहादुर राणाले नेपालमा गोरखाका राजा राम शाहका पालादेखि चलिआएको कानुनी व्यवस्थालाई परिमार्जन र परिवर्तन गरी एउटा संहिताको रुपदिए जस्को नाम राखियो मुलुकी ऐन। १४०० पुष्ठ रहेको यो मुलुकी ऐन १८५४ सालमा जारी गरिएको थियो। यस मुलुकी ऐनमा मुलुकको सामान्य प्रशासन संचालन सम्वन्धि व्यवस्था, देवानी र फौजदारी कानुन, विवाहाबारी, अंशवण्डा, अपुताली, छुवाछुत आदि ईत्यादी व्यवस्थाहरु राखिएको थियो। त्यही ऐनलाई परिमार्जन र शंसोधन गरी पुन २०२० सालमा मुलुकी ऐन आयो। तर साल फेरिएपनि कतिपय पुराना संस्कार बोकेका कानुनहरु फेरीएनन राणा शासन गए पनि।
यो ऐनमा परेको एउटा हो अदलको महल। यस महलले नेपालीमुलको विदेशी नागरिकलाइ नेपालमा रहेको चल एवं अचल सम्पतिको उपभोग गर्न प्रतिवन्ध लगाएको थियो। यस पछाडीका कारणहरु के थिए अहिले म भन्न सक्दीन तर अनुमान के लगाऊन सकिन्छ भने त्यसबेला राणाहरुमा शक्ति वाडफाडको होडबाजी थियो, अनि राणाहरु पनि क, ख, आदि वर्गमा वाडिएका थिए। त्यसैले प्रधानमन्त्री र अन्य उच्चतहको पदमा पुग्ने दाउपेच र सडयन्त्र राणा र शम्सेरहरुका बिचमा भै नै रहने हुदा शक्तिमा हुनेले नहुनेलाई देश निकाला गर्ने अनि उस्को सम्पति हडप गर्ने अनि त्यो व्यक्ति पुन नेपालमा फर्किएर नआओस भन्ने ध्यय राखिन्थयो। यस्ता व्यक्तिहरुमा राणाहरु मात्र होईन राणाहरुको विरोध गर्ने अन्य बुद्धिजीवी र चेतनसील नागरिकहरु पनि पर्दथे। यसरी देश निष्कासन गरिएका व्यक्तिहरु नेपाल फर्किएको अवस्थामा मृत्युदण्डको समेत सामना गर्नु पर्नेहुदा विशेष गरेर भारत वा अन्य देशमा गै स्थायी बसोबास गर्ने र त्यहीको नागरिकता समेत लिनुपर्ने अवस्था पर्दथ्यो। किनकि लामो समयसम्म अर्काको देशमा बस्दा त्यहाको नागरिक नभएमा जीऊनका लागि अत्यावस्यक पर्ने सुविधाहरु पाऊन सकिदैन। अत त्यसबेलाका शासकहरुले यसरी डाडा कटाईएका दाजुभाई, दिदी बहिनीहरु पुन नेपालमा फर्र्किए नआऊन र यहाको सम्पतिको उपभोग गर्न नसकुन भनि यो मिसमासे अदलतको महलको दफा २ र ३ मा राखिएको व्यवस्था देशमा गणतन्त्र आएपछि पनि ज्युकात्यू छ बदलिएको छैन।
अदलको महलको दफा २ अनुसार विदेशी नागरिकलाई नेपाल सरकारको पूर्व स्वीकृति बेगर कुनै अचल सम्पति बिक्री वा दान बकस गरी वा अरु कुनै प्रकारले हक छाडी दिन वा बन्धक दिन हुदैन। दिएलिएको भए सो सम्पति जफत भै नेपाल सरकारको हुन्छ। किन्नेको रकम परेको भए त्यो ऋणको रुपमा लिनेले फिर्ता दिनुपर्छ।
त्यस्तै दफा ३ मा नेपाली मुलको विदेशी नागरिकलाई नेपालको सम्पतिमा अंश वा अपुताली परयो भने निजले विदेशको नागरिकता त्यागी नेपालको नागरिकता नलिएमा त्यो सम्पति निजको नाममा दर्ता नामसारी हुन र निजले भोग गर्न पाऊदैन। यतिमात्र होईन निज नेपालीमुलको विदेशी नागरिकले त्यो सम्पतिको आयस्ता पनि खान पाऊदैन। तर उस्ले यसरी पाएको र्अश वा अपुतालीको सम्पतिभने कुनै नेपाली नागरिकलाई बिक्री गरी वा कुनै व्यहोराले हकछाडी दिन भने पाऊछ। यदि कसैले यो व्यवस्थाको प्रतिकुल गई अंश वा अपुताली पाएको अनि त्यस्को आयस्था खाएको ठहर भएमा सो बदर भै त्यो सम्पतिमा नेपाल सरकारको अधिकार हुन्छ।
माथिको कानुनी व्यवस्था गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ र यस्को नियमावलीले नेपाली मुल को विदेशी नागरिकले नेपालमा आफुले विदेशमा आर्जन गरेको सम्पति नेपालमा लगानी गरी उद्योग व्यवसाय संचालनमा सहभागी हुन पाऊने, नेपालका नगरपालीका देखि गाऊ विकास समितिसम्म तोकिएको हदमा नबढने गरी बसोबासका लागि जग्गा किनि त्यस्को स्वामीत्व लिन, आयस्था अर्थात आम्दानी खान सक्ने आदि व्यवस्था गरेको भएता पनि जंग बाहादरका पालादेखि चलिआएको अदलतको महलमा रहेका डाडा कटाएकालाई देशमा बस्न, नेपालको पैतृक सम्पति राख्न र आयस्ता खान दिनु हुदैन भन्ने आशय रहेका व्यवस्थाहरु भने अथावत रहनुमा कुनै औचित्यता देखिदैन। यस्मा पनि अमेरीकामा बसोबास गर्ने नेपालीमुलका अमेरीकी नागरिकहरुका दृष्टिले त यो व्यवस्था अझ बढी कष्टकारक छ। यस्तै असहज परिस्थिती अन्य मुलुकको नागरिक्ता लिने नेपालीहरुलाई पनि परेको हुन सक्छ। अमेरीकाको नागरिकता लिने नेपालीहरुलाई परेको केही समस्याहरुलाई तलका उदाहरणहरुले स्पष्ट गर्न सकिन्छ।
एकजना महिला मेरो ल अफिसमा आएर सोधिन। हामी बाबाआमाका दुईजना छोरा छोरी। म अमेरीका पढन आए। बुबा बित्नु भो। आमा नेपालमा दाजु र भाउजुसंग बस्नुहुन्थयो। म अहिले अमेरीकाको नागरिक भएकी छु। आमाको नेपालमा दाईजो पेवाबाट किनेका घर, जग्गा अनि अन्य अचल सम्पति छन। हाल आमा यहा आऊनु भएको छ। दाईले राम्ररी हेरचाहा नगर्नु भएको हुदा यतै बस्ने विचार गर्नु हुन्छ। तपाईको भनाई अनुसार मैले आमालाई अमेरीकाको ग्रिनकार्ड दिलाऊन सक्छु। आमा रोगी हुनुहुन्छ। म वहाको लागि ईन्स्योरेन्स किन्न सक्दीन किनकि यो ज्यादै महंगो छ। तपाईलाई थाहा नै छ अमेरीकामा धेरैजसो मान्छेहरु उपचार गराऊन सक्दैन ईन्सोरेन्स किन्न नसक्ने कारणले गर्दा। आमाले ग्रिनकार्ड लिएको अवस्थामा मात्र न्युर्योक राज्यमा न्युनतम आम्दानी भएका आप्रवासीले पाऊने स्वास्थ्य सुविधाको ईन्स्युरेन्स पाऊनु हुन्छ। आमाले मलाई नेपालको केही अचल सम्पति दिने बिचार गर्नु भएको छ मबाट रीझिए। त्यो दिएको सम्पति मैले लिन पाऊछु कि पाऊदिन ? मैले भने पाऊनु हुन्न। फेरी उन्ले भनिन आमाले आफ्नै सम्पति पनि छोरीलाई दिन नमिल्ने कानुन पनि हुन्छ त ? मैले भने नहुने पर्ने हो तर अदलको महलमा रहेका माथिका व्यवस्थामा अहिलेसम्म शंसोधन भएका छैनन।
त्यस्तै अमेरीकामा डिभिबाट ग्रिनकार्ड परेर आएका एकजना अविवाहित पुरुषले आएर सोधे म नेपालमा गएर विवाह गरी श्रीमतीलाई ल्याऊन चाहान्छु। आमाबाबा र दाजुभाईको ईच्छा पनि यस्तै छ। मैले भने अमेरीकाको नागरिक हुनुभयो भने नजीकको नातेदारको हैसियतले आफनी श्रीमतीलाई चाडै ल्याऊन सक्नुहुन्छ तर ग्रिनकार्ड मात्र भएको अवस्थामा ढिलो हुनसक्छ। फेरी उन्ले सोधे मैले यहाको नागरिक्ता लिएभने त्यस्को असर मैले नेपालमा पाऊने सम्पतिमा कस्तो पर्छ ? मैले भने तपाईले नेपालको सम्पति मा अंश वा अपुतालीको दावी गर्न सक्नुहुन्न। तपाईका आमाबाबा र दाजुभाईले तपाईलाई सम्पतिबाट हडप गर्नेछन तपाईले यहाको नागरिक्ता लिनुभयो भने। यहाको नागरिक नभै नेपाल गएर विवाह गर्नु भयो भने श्रीमतीलाई चाडै ल्याऊन सक्नुहुन्न।
उन्ले पनि फेरी सोधे म अमेरीकाको नागरिक हुदा अरु के के सुविधा पाऊन सक्छु नि ? मैले जवाफमा भने तपाई अमेरीकाको नागरिक हुनु भयो भने यो यो देशबाट कहिल्यै पनि निष्कासन गरिनुहुन्न। तपाईको ग्रिनकार्ड भने सानातिना अपराध गरेको अवस्थमा पनि खोसिनसक्छ र अमेरीकाबाट निष्कासित हुनु हुन्छ। त्यस्तै तपाईले चुनावमा राष्ट्र्पति वाहेकको पदमा उम्मेदवार हुन र भोट हाल्ने अधिकार पाऊनु हुन्छ। अमेरीकी पासपोर्टको आधारमा विश्वका कुनै पनि देशमा सजीलैसंग भिषा नलिई जान सक्नुहुन्छ। पढनका लागि सरकारी स्तरबाट दिईने न्युनतम व्याजको रिण पाऊनु हुन्छ पढिसकेर तिर्ने शर्तमा। आफना आमाबाबु, दीदीबहिनी र दाजुभाईलाई अमेरीकामा ग्रिनकार्डको लागि स्पोन्सर गर्नसक्नु हुन्छ। दाजुभाई, दिदिबहिनीका नावालक छोराछोरीहरु कम उमेरका रहेछन भने आफ्ना बाबुआमा संगै अमेरीका आऊन सक्छन आदि ईत्यादी। मेरो जवाफ पछि उन्ले आश्चर्य हुदै भने हैन म अमेरीकाको नागरिक हुदा श्रीमती, आमाबाबु, दाजुभाई दिदिबहिनी र उनीहरुका सन्तानलाई समेत अमेरीकाको ग्रिनकार्डका लागि स्पोन्सर गर्न पाऊने। मैले कमाएको पैसा वहाहरुको गर्जोटार्न र अन्य व्यवहार चलाऊन पठाउनु पर्ने तर त्यस्को बदलामा मैले भने आफनो पैतृक सम्पति उपभोग गर्न नपाऊने यो कस्तो खालको कानुन हो नेपालको ? हैन यहाका एनआरएन भन्नेले यस्ता कुराहरुमा केही बोल्दैनन कि क्याहो ? मैले भने ख्वै त्यो त मलाई थाहा भएन। सायद दशैको मुखमा काठमाण्डौमा हुने एनआरएनको भेलामा यस्ता र यस्तै अन्य अन्यायोचित र बेतुकी कानुनका बारेमा हाम्रा प्रतिनिधिहरुले आवाज उठाऊलान कि यी कानुनी कुराहरु थाहा पाए भने। तपाईले चिनेका एनआरएनका पदाधिकारी तथा प्रतिनिधिहरु कोहीछन भने भन्नुहोस न यी कुराहरु। अनि म पनि भनौला भन्दै हामीले हामीहरुले कुराकानीको विट मारयौ।
गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ र यस्को नियमावलीले नेपालीमुलको विदेशी नागरिकले नेपालमा आफुले विदेशमा आर्जन गरेको सम्पति नेपालमा लगानी गरी उद्योग व्यवसाय संचालनमा सहभागी हुन पाऊने र नेपालमा रहदा आफुले आर्जन गरेको जग्गा जमिन बाहेक तोकिएको हदसम्म बसोबासका लागि जग्गा खरिद गरी स्वामीत्व प्राप्त गर्न र त्यस्को आयस्था खान पाऊने व्यवस्था गरेको छ। यसरी विदेशी नागरिकता लिएका नेपालीमुलको आप्रवासीले जग्गाको स्वामित्व राख्न र आयस्था खान पाऊने व्यवस्था एउटा कानुनमा हुनु अनि अर्को कानुनमा भने विदेशको नागरिकता लिने आप्रवासी नेपालीले नेपालको पैतृक सम्पति राख्न र आयस्ता खान पाऊदैनन भन्नु न्यायोचित हुदैन। त्यसर्थ अदल को महलको दफा २ र ३ मा राखिएको व्यवस्थामा शंसोधन गरी नेपालीमुलको विदेशको नागरिक्ता लिएको आप्रवासीले अंश र अपुतालीबाट पाएको सम्पति आफनै नाममा राखी भोगचलन गर्न पाऊनु पर्छ र आवाशका लागि किनेको जग्गाको हदबन्दी भित्र पारिनु हुन्न भन्ने व्यवस्था गरिनु न्यायोचित हुन्छ।
( बिनोद रोका, न्यूर्याक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।
तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.comm मा सम्पर्क राख्न सक्नुहुने छ। )